कर्णाली प्रदेश अन्तर्गत पर्ने दशवटा जिल्लाहरुमध्ये एउटा मध्यपहाडी क्षेत्रमा अवस्थित जिल्ला हो जाजरकोट।नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १८९३६० छ जसमध्ये महिलाको सङ्ख्या ९५१९५ र पुरुषको संङ्ख्या ९४१६५ रहेको छ।यस जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग किलोमिटर रहेको छ भने कुल क्षेत्रफलको झण्डै ६० प्रतिशत भु-भाग वन पैदावर क्षेत्रले ओगटेको छ।यस जिल्लाको पूर्वमा रुकुम, पश्चिममा दैलेख र कालिकोट, उत्तरमा जुम्ला र डोल्पा, दक्षिणमा दैलेख र सल्यान जिल्लाहरु रहेका छन्।यो जिल्ला धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक रुपमा ज्यादै धनी मानिन्छ। ब्राह्मण, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको यस जिल्लामा अन्य जातिहरु जस्तैः दशनामी (गिरी, पुरी, भारती, नाथ), मगर, गुरुङ, नेवार र ठकुरीहरुको पनि बसोबास रहेको पाइन्छ। जाजरकोट जिल्ला व्युत्पत्तिका हिसाबले भेरी नदीले कटान गरी भूमि जर्जर (सुख्खा) भएका कारण जाजरकोट नाम रहन गएको भन्ने किंवदन्ती छ, अर्कोतर्फ झारपातले ढाकिएको थुम्को (कोट) लाई जनजिब्रोले झारकोट र त्यसलाई स्तरीय बनाई जाजरकोट भन्ने गरिएको पनि लोकोक्तीमा पाइन्छ।जाजरकोट जिल्लाका ऐतिहासिक सम्पदाको रुपमा पनि धनी मानिएको छ। सांस्कृतिक सम्पदाका रुपमा वि.स.१४५५ को राजा जगती सिहंको दरबार, राजा हरिशाह, गजेन्द्र शाहको पालको जाजरकोट दरबार, शिवालय मन्दिर, मष्टोथान, मुग्राहा, बजुरुकमाला बज्यै, चतुरमाला, मालिका मन्दिर, कालिका मन्दिर, राँगाबाचिला, पिनालेख, चित्रालेखि, नहकुली लेक, फुलबारी लेक, साङ्टा गुफा सिद्ध साईकुवारी आदि चिनिन्छन्।
प्राकृतिक रुपमा विभिन्न तालतलैया झरणाहरु रहेको यस जिल्लामा विशेष गरी शंख दह, गौ दह, पञ्चासे, नौमुली, राहपानी लवारे छहरा जस्ता रमणीय क्षेत्रहरुले यस जिल्लाको थप शोभा बढाएका छन्।यसका साथै ४१७ मेघावाटको उच्च जलासययुक्त नलसिंहगाड जलविद्युतको उत्पादन क्षेत्र पनि यसै जिल्ला भित्र रहेको छ । सदाबहार बगिरहने सरुगाड, राँगागाड, सुवागाड, ताँत्र गाडजस्ता हिम नदीहरुले यहाँको जलस्रोतको प्रचुरतालार्इ चिनाउने काम गरेका छन्।त्यसै गरी समुद्र सतह देखि ५ हजार ४१२ मिटर उचाइमा रहेको खाँमे वेलासपुर हिमाल पनि यस जिल्ला भित्र पर्दछ जसले पर्यटकहरुलाई लोभ्याउने गरेको छ।प्रकृतिको खानी सुन्दर हिमाली फूल बिजौरी, नर्काली, आडतारे, नयर, कोठीफूलहरुले पनि यस जिल्लाका केही क्षेत्रहरुलाई शोभायमान बनाएको पाइन्छ। यसका साथै यस जिल्लाका केही भागमा भालु, कस्तुरी, झारल, घोरल, नावर, थार, रेडपाण्डा र ब्याँसो रहेका छन् भने पंक्षीहरुमा डाँफे, मूनाल, कालिज, होलेसो, फकाँश, अत्यन्त दुलर्भ पंक्षी सुनगिद्ध, च्याखुरो र जुरेली जस्ता सयौं प्रजातिका चराचुरीङ्गीहरुको बासस्थान पनि यस जिल्लामा रहेको पाइन्छ।वनस्पति तथा वन पैदावरमा धनी मानिएको यस जिल्लामा विभिन्न किसिमका मूल्यवान जडिबुटिहरु पाँचऔले, पदमचाल्नो, लोठसल्ला, चिराँइतो, जिम्मु र लसुनेजस्ता थुप्रै औषधीमुलक वनस्पति पनि पाइन्छन्।यस जिल्लाका मानिसको मुख्य व्यवसाय भनेको कृषि तथा पशुपालन हो। सांस्कृतिक सम्पदाको रुपमा धनी मानिने जाजरकोट जिल्लाका मुख्य चाड दशै, तिहार, माघे संक्रान्ति, चैते दशैं, फागु पुर्णिमा, तिज आदी रहेका छन्।
राजनीतिक रुपमा यस जिल्लालाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक, प्रदेश सभा निर्वाचन क्षेत्र दुई र गाउँपालिका चार र नगरपालिका तीन समेत गरी सात स्थानीय तहको व्यवस्था गरिएको छ।जाजरकोट जिल्लालाई साक्षर,पूर्णखोपयुक्त र खुल्ला दिसा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ।तर यसको दीगोपना र गुणस्तरका लागि धेरै काम गर्न बाँकी रहेको देखिन्छ। यस जिल्लामा आधारभूत र माध्यमिक गरी जम्मा ४०० वटा सामुदायिक विद्यालयहरु रहेका छन । करबि ८० हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन्। शैक्षिक सत्र २०८२ मा SEE को नजिता ४५.५९ प्रतिशत र कक्षा १२ को नतिजा ४४ प्रतिशत रहेको छ । जिल्लाको शैक्षिक स्थितिका विभिन्न सूचकहरुमध्ये सिकाइ उपलब्धि, शैक्षिक सुशासन र व्यवस्थापन अझै कमजोर अवस्थामा रहेको छ।